यूएस ओपनः लेला फर्नाण्डिज र एलियासिमे सेमिफाइनलमा

08 Sep, 2021 - By ADMIN


८ सेप्टेम्बरः कनाडाकी १९ वर्षीय लेला फर्नाण्डिजले रोमाञ्चक लड़ाइँमा पाँचौं वरीयता प्राप्त एलिना स्वितोलिनालाई पराजित गरी २००५-मा रुसकी मारिया शारापोवापछि ग्राण्ड स्ल्याम यूएस ओपन टेनिस टुर्नामेण्टको महिला एकल सेमिफाइनलमा पुग्ने सबैभन्दा युवा खेलाड़ी बनिन्। लेलाले अर्थर ऐश स्टेडियममा युक्रेनकी खेलाड़ी विरुद्ध ६-३, ३-६, ७-६-ले जीत दर्ता गरिन्। कनाडाकी यस खेलाड़ीले यसअघि टुर्नामेण्टकी दुई पूर्व च्याम्पियन विश्वकी पूर्व नम्बर एक खेलाड़ी नाओमी ओसाका र जर्मनीकी एञ्जेलिक कर्बरलाई पराजित गरेकी थिइन्। सोमवार १९ सालकी हुने लेलाले म्याचपछि भनिन्, मलाई आफू अनि आफ्नो खेलमाथि विश्वास छ। म सदा सकारात्मक सोचको साथ कोर्टमा ओर्लिन्छु। प्रत्येक पोइण्टपछि म आफैलाई प्रेरित गर्छु। आफ्नो शट्मा ध्यान दिन्छु। आजको म्याचमा मैले केही कठिन समयको सामना गर्नु पऱ्यो तर अन्तमा जीत हासिल गरेर म खुशी छु।
यसबीच कनाडाकै २१ वर्षीय फेलिक्स आगर एलियासिमे पनि स्पेनका १८ वर्षीय कार्लोस अल्कारेज म्याचको बीचमै हट्दा पुरुष एकलको सेमिफाइनलमा स्थान बनाउन सफल भए। फेलिक्स ६-३,३-१-ले अघि रहँदा अल्कारेजले देब्रे खुट्टाको चोटले गर्दा म्याचबाट हट्ने फसेला गरे। अल्कारेजले गत दुईवटा म्याचमा पाँच सेटसम्म सङ्घर्ष गरेका थिए, जसमा तेस्रो वरीयता प्राप्त ग्रीसका स्टेफानो सितसिपास विरुद्ध म्याच पनि सामेल छ। उनी १९६३-देखि पुरुष एकलको क्वार्टर फाइनलमा स्थान बनाउने सबैभन्दा युवा खेलाड़ी बनेका थिए। अल्कारेजले भने, यसरी टुर्नामेण्टबाट हट्नु साँच्चै निराशाजनक कुरा हो तर मसँग अन्य कुनै विकल्प थिएन। बाह्रौं वरीयता प्राप्त फेलिक्स यूएस ओपनको सेमिफाइनलमा स्थान बनाउने कनाडाका पहिलो पुरुष खेलाड़ी हुन्। सेमिफाइनलमा उनको सामना रुसका दोस्रो वरीयता प्राप्त दानिल मेदवेदेवसँग हुनेछ। मेदवेदेवले नीदरल्याण्डका क्वालीफायर बोटिको भ्यान डी जेण्ड्सकल्पलाई ६-३, ६-०, ४-६, ७-५-ले पराजित गरी लगातार तेस्रोपल्ट फ्लशिङ्ग मिडोजमा सेमिफाइनलको टिकट हासिल गरे।
यसबीच महिला एकलको सेमिफाइनलमा लेलाको सामना फेरि एकपल्ट आफूभन्दा असल ऱ्याङ्किङ्ग भएकी दोस्रो वरीयता प्राप्त एरिना सबालेङ्कासँग हुनेछ। जुलाईमा विम्बल्डनको सेमिफाइनलमा स्थान बनाउने सबालेङ्काले फ्रेञ्च ओपन च्याम्पियन बारबरा क्रेज्सिकोवालाई सीधा सेटमा ६-१, ६-४-ले पराजित गरिन्। क्रेज्सिकोवा यूएस ओपनको महिला एकलमा एकमात्र खेलाड़ी थिइन्, जसले ग्राण्ड स्ल्याम खिताब जितेकी छन्। यसरी नै पुरुष एकलमा ग्राण्ड स्ल्याम खिताब जित्ने एकमात्र खेलाड़ीको रूपमा सर्बियाका नोवाक जोकोविच बाँचेका छन्। उनी रेकर्ड २१औं ग्राण्ड स्ल्याम खिताब र १९६९-मा रड लेवरपछि क्यालेण्डर ग्राण्ड स्ल्याम पूरा गर्ने पहिलो पुरुष खेलाड़ी बन्न चुनौती पेश गरिरहेका छन्।

Share-
Facebook Twitter Linkedin
ENQUIRY